भारतको दुवै टोली छनोट

२०८२, १६ श्रावण बिहीबार २०:२९

विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा भारतको पुरुष-महिला दुवै टोलीले बिहीबार सफलता पाएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भयो ।

पुरुष-महिलामा समान ५-५ राष्ट्र सहभागी थिए । पुरुष-महिला दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंलका र बंगलादेशलाई समान ३-० को नतिजामा पराजित गर्दै ८ अंक जोड्यो । भारतको पुरुष-महिला टोली इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट भएको छ ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल ७ अंकसाथ नेपाल दोश्रो भयो । भारतसंग मात्र चुकेको नेपालले पहिलो दिन बुधबार श्रीलंकालाई ३-०, माल्दिभ्सलाई ३-१ र बंगलादेशलाई ३-२ को सेटमा पराजित गरेको थियो । माल्दिभ्स र श्रीलंका तेश्रो भए ।

महिलामा माल्दिभ्ससंगै नेपाल तेश्रो भयो । ६ अंक जोडेको नेपालले २ राष्ट्रलाई पराजित गर्यो भने २ राष्ट्रलाई नतिजा सुम्पियो । माल्दिभ्स र बंगलादेशलाई समान ३-० ले पाखा लगाएको नेपाल भारतसंग ३-० र श्रीलंकासंग २-३ ले पछि पर्यो । श्रीलंका ७ अंकसाथ दोश्रो स्थानमा रह्यो ।

नेपाली टोलीको पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल तथा महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेलले प्रतिस्पर्धा गरेका थिए । मोहनदास बासुकला मुख्य प्रशिक्षक तथा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कवेरप्रकाश सिंह, उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, कोषाध्यक्ष ज्याकी महर्जन, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुईदिने प्रतियोगितामा भारतबाट १० तथा नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८-८ गरी ३४ खेलाडी सहभागी थिए । भुटान र पाकिस्तान सहभागी भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *