काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा शनिबार बालुवाटारमा आयोजित दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह प्रथम भएका छन् । उनीहरुले दौडको मुख्य स्पर्धा ५ किलोमिटर खुलातर्फ सफलता हात पारेका हुन् ।

विकेशले २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हात पारेका हुन् । अभिनाश राई २१ मिनेट ३६ सेकेन्डसहित दोस्रोमा रहे । अमृत गुरुङ २२ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए ।

महिलातर्फ ३५ मिनेट ५६ सेकेन्डमा ५ किमि दौड पूरा गर्दै रन्जुले सफलता हात पारेकी हुन् । यो स्पर्धामा अनुश्री प्रधानांगा ३६ मिनेट २३ सेकेन्डसहित दोस्रो भइन् भने मन्जु थापा ३९ मिनेट ३५ सेकेन्डसाथ तेस्रो स्थानमा रहिन् ।

विद्यार्थी (३ किमि) तर्फ छात्रमा राजेश शाही पहिलो, राहुल तिरुवा दोस्रो र सुमन तामाङ तेस्रो भए । छात्रातर्फ अनिता बुढामगर पहिलो, महिमा राई दोस्रो र तृनिशा आचार्यले तेस्रो स्थान हासिल गरे ।

भेट्रानतर्फ पनि ३ किमिको दूरीमा प्रतिस्पर्धा भएको थियो, जसमा पुरुषतर्फ शिवजी श्रेष्ठ पहिलो, मिलन ढकाल दोस्रो र सुधांशु केसी तेस्रो भए । महिलातर्फ शान्ता ढकाल पहिलो, लक्ष्मी लम्साल दोस्रो र तिला खनाल तेस्रो स्थानमा रहे ।

काठमाडौं महानगरपालिका वडा नं.४ का वडाअध्यक्ष दिनेश महर्जनकाअनुसार तेस्रोपल्ट आयोजित दौडमा तीन सय बढी सहभागि भए । उनले भने, ‘हाम्रो वडाबासी स्वस्थ रहोस् भनेर सुरु गरिएको दौड प्रतियोगिता बर्षेनी राम्रो भइरहेको छ, अर्को वर्ष थप उत्कृष्ट बनाउँदै उत्सवकै भव्य तवरले आयोजना गर्नेछौं ।’ उनीसहित जनप्रतिनिधिहरूले विजेता खेलाडीहरूलाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *