बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुक चुम्लुङको सह आयोजनामा झापाको बिर्तामोड सिटी सेन्टरमा जारी उभौली पर्व प्रथम राष्ट्रियब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन शनिबार पाँचौ चरणको खेल सम्पन्न हुँदा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले ५ अंकसहित एकल अग्रता लिएका छन् ।
उनले चौथो चरणको खेलमा झापाका सुमन श्रेष्ठलाईलाई हराए भने पाँचौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन क्यान्डिडेट मास्टर पुरुषोत्तम चौलागाईंमाथि संघर्षपूर्ण जित निकाले । झापाका पूर्व नेपाल च्याम्पियन राजन सुवेदी, प्रकाश नेपाल, पाँचथरका रिसोन थापा र सुनसरीका राजेन्द्र राई साढे ४ अंक सहित संयुक्तरूपमा दोश्रो स्थानमा रहेका छन् ।

राजनले आयोजक क्लबका ज्पाला लिम्बुलाई चौथो चरणको खेलमा निरास पारेका थिए भने पाँचौ चरणको खेलमा प्रकाश नेपालसंग बराबरी खेली अंक बाँडे । प्रकाशले चौथो चरणको खेलमा मोरडका लोक सागर साम्वालाई हराएका थिए ।
त्यसैगरी उत्कृष्ट प्रदर्शन गरि पाँचौ चरणसम्म अपराजित रहेका युवा खेलाडी रिसोनले ललितपुरका राजन पुरीलाई पाँचौ चरणको खेलमा हराउन सफल भए भने चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई पन्छाएका थिए । राम्रो खेल प्रदर्शन गरेका राजेन्द्र चौथो खेलमा झापाका विक्रम जीत लिम्बुसंग बराबरी खेले भने पाँचौ चरणको खेलमा ललितपुरका सुरज महर्जन माथि जित निकाले ।

सिएम पुरुषोत्तम चौलागाईं, समन श्रेष्ठ, खोटाङका धिरेन राई, ज्वाला लिम्बू, राजन कुमार पोखरेल, सुनसरीका हिमाल राई, चुडामणि राई कुलुङ, नवीन तण्डुकार, सुरज राय, मणीराज डाँगी , राज लिम्बू, सचिन कुमार चौधरी र किरण लिम्बूले ४ अंक जोडेका छन् ।
स्वीस लीग प्रणाली अनुसार तीन दिन सम्म संचालन हुने प्रतियोगिताका विजेतालेफ ५१ हजार, उपविजेताले ३५ हजार र तेश्रो स्थान रहनेले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कूल नगद पुरस्कार ३ लाख ३५ हजार रहेको छ ।
