आइसिसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।
समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ । समूह सी मा हङकङ ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ ।
समूह विजेता मात्र सुपर थ्री मा पुग्ने भएकोले नेपालले हङकङलाई पछि पार्नुपर्नेछ । त्यसका लागि नेपालले आजको खेल जितेर २ अंक जोड्नुपर्नेछ । यस्तै समूहको अन्तिम खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ ।
यदी नेपाल आज जित्ने र हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएमा नेपाल र हङकङको समान ५ अंक हुनेछ । यस्तोमा नेटरनरेट निर्णयाक हुनेछ ।
यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो ।
महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।
