पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट १४-२५ ले गुमाएको गण्डकीले दोश्रो सेट पुनरागमन गर्दै २५-१७ को जित निकालेको थियो । तर, तेश्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार व्यहोर्नुपर्यो । इरानी टोलीले तेश्रो सेट २५-१८ र चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पार्यो ।
इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।
आजको दोश्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । यसअघि, हिजो भएको खेलमा भारतीय टोली नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेश्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ ।
