नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम तयारीका लागि भारत प्रस्थान गर्ने भएको छ ।
भुटानमा तय भएको टुर रद्द भएपछि नेपालले वैकल्पिक योजना अन्तर्गत भारतमा अभ्यास गर्ने निर्णय गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली सम्भवतः आजै दिल्ली प्रस्थान गर्ने तयारीमा रहेको छ । दिल्लीमा अभ्यास खेलहरू आयोजना गरिनेछ भने यसको विस्तृत कार्यक्रम तथा थप जानकारी क्यानले आजै औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
क्यानको वार्षिक कार्यतालिकाअनुसार अप्रिल महिनामा ‘नेपाल टुर अफ भुटान’ तय गरिएको थियो । तर, भुटानमा हुने श्रृंखलामा पर्याप्त अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता सुनिश्चित नहुँदा टुर रद्द गरिएको हो ।
आगामी एसिया छनोटको तयारीस्वरूप नेपाली महिला टोलीले हालसम्म थुप्रै प्रतिस्पर्धात्मक अनुभव बटुलेको छ । टोलीले हालै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा मैत्रीपूर्ण टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो भने युगाण्डामा चारदेशीय टी-२०आई श्रृंखलामा समेत सहभागिता जनाएको थियो ।
यसैबीच, नेपालले एसिया छनोटका लागि अन्तिम टोली पनि घोषणा गरिसकेको छ । टोलीले भारतमा थप अभ्यास र प्रतिस्पर्धात्मक खेलहरू खेलेर आफ्नो तयारीलाई अन्तिम रूप दिने योजना बनाएको छ ।
