इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदराबादले १८.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
हैदराबादका लागि इशान किशनले ४४, कामिदु मेन्डिसले अविजित ३२, अनिकेत बर्मा, नितिशकुमार रेड्डी र ट्रभिस हेडले समान १९ रन बनाए । चेन्नईका लागि नूर अहमदले दुई तथा अंशुल कम्बोज, रवीन्द्र जडेजा र अलील अहमदले समान एक विकेट लिए ।
त्यसअघि चेपकस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम चेन्नई १९.५ ओभरमा १५४ रनमा अलआउट भयो ।
चैन्नईका लागि डेवाल्ड ब्रेभिसले ४२, आयुष म्हात्रेले ३०, दीपक हूडाले २२, रवीन्द्र जडेजाले २१ र शिवम दुबेले १२ रन जोडे । हैदराबादका लागि हर्षल पटेलले चार, कप्तान प्याट कमिन्स र जयदेव उनादकटले दुई/दुई तथा कामिन्दु मेन्डिस र मोहम्मद शामीले समान एक विकेट लिए ।
जितसँगै ९ खेलबाट ६ अंक जोडेको हैदराबाद अंक तालिकामा आठौँ स्थानमा उक्लिएको छ । पराजित चेन्नई समान खेलबाट ४ अंकका साथ दसौँ अर्थात पुछारमा रहेको छ । हैदराबादसँगको हारपछि चेन्नईको प्लेअफ यात्रा लगभग समाप्त भएको छ ।
