आईपीएल २०२५ अन्तर्गत मंगलवार मोहालीमा सम्पन्न खेलमा पञ्जाब किङ्सले निकै कम स्कोरको रक्षा गर्दै कोलकाता नाइट राइडर्समाथि १६ रनको शानदार जित दर्ता गरेको छ ।

यो जित आईपीएल इतिहासकै सबैभन्दा कम स्कोरको सफल रक्षा बनेको छ, जसले पञ्जाबको आत्मविश्वासमा ठूलो उचाइ थपेको छ ।

खेलमा पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर बलरहरूलाई सहयोग गर्ने पिचमा पञ्जाबको ब्याटिङ लाइनअपले निरन्तर विकेट गुमाउँदै १५.३ ओभरमै सबै विकेट गुमायो । प्रभसिमरन सिंहले सर्वाधिक ३० रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् । कोलकाताका लागि हर्षित राणाले ३ विकेट लिए, सुनील नारिन र वरुण चक्रवर्तीले २-२ विकेट झारे ।

सामान्य लक्ष्य देखिएको ११२ रनको पीछा गर्न मैदान उत्रिएको कोलकाता सुरुदेखि नै टुक्राटुक्रा पर्यो । सुनील नारिनले पहिलो ओभरमै ५ रनमा आफ्नो विकेट गुमाए । कप्तान अजिंक्य रहाणेले अंगकृष रघुवंशीसँग ५५-रनको साझेदारी गरे तर उनीहरूको विकेट पछि विकेट द्रुत गतिमा पतन भइरह्यो ।युजवेंद्र चहल र मार्को जान्सेनको आक्रमणले कोलकातालाई स्तब्ध बनायो । चहलले ४ विकेट लिए भने जान्सेनले ३ विकेट हात पार्दै मध्यक्रम धरासायी बनाए । अन्ततः कोलकाता १५.१ ओभरमा ९५ रनमै समेटियो ।

पञ्जाब किङ्सका प्रशिक्षक रिकी पोन्टिङले खेलपछि प्रतिक्रिया दिँदै यो जितलाई आफ्नो आईपीएल यात्रा कै सर्वश्रेष्ठमध्ये एक बताएका छन् ।

यो जितसँगै पञ्जाब किङ्स ६ खेलबाट ४ जितसहित ८ अंकमा चौथो स्थानमा उक्लिएको छ । कोलकाताका लागि भने यो चौथो हार हो, जसले उनीहरूलाई ७ खेलमा ३ जितसहित छैटौं स्थानमा झारेको छ ।

पञ्जाबले अब रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध लगातार दुई खेल खेल्नेछ भने कोलकाताले गुजरात टाइटन्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *