अफगानिस्तान यु-१९ टोलीविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली विजयी भएको छ ।
काठमाडौंस्थित माथिल्लो मुलपानी किकेट मैदानमा बुधबार भएको खेल वर्षाले प्रभावित हुँदा नेपाल डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनले विजयी भएको हो ।
नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।
त्यसपछि खेल सुरु हुने अवस्था नभएपछि नेपाल विजयी भएको हो । पहिलो दुई खेलमा अफगानिस्तान १३० रन र १ रनले विजयी भएको थियो । सिरिज २-१ ले अफगानिस्तानको पक्षमा रह्यो ।
खेल रोकिनुअघि अफगानिस्तानका लागि अजिजउल्लाह मिया खिल १५ रन बनाएर क्रिजमा थिए । यसैगरी फैसल शिनोजादाले १६ रन बनाए ।
नेपालका लागि अपराजित पौडेलले दुई तथा सन्तोष यादव, अशोक धामी, विपिन शर्मा र दयानन्द मण्डलले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.५ ओभरमा १९१ रनमा अलआउट भएको थियो ।
नेपालका लागि शाहिल पटेलले ४६, निरजकुमार यादवले ४२, रोशन विश्वकर्माले २८, कप्तान नरेन भट्टले २२ र दर्श सोनारले १० रन बनाए ।
अफगानिस्तानका लागि हफीज जाद्रानले १० ओभरमा २ मेडनसहित ४९ रन दिएर सर्वाधिक चार विकेट लिए ।
नेपाल र अफगानिस्तानले यू–१९ विश्वकप छनोटको तयारीस्वरूप एकदिवसीय सिरिज खेलेका हुन् । विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानसहित यूएई, ओमान र हङकङले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो वर्ष हुने विश्वकप खेल्नेछ ।
