विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको सुपोल क्रिकेट क्लब क्वाटरफाइनलमा प्रवेश गर्दा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटना सेमिफाइनलमा प्रवेश गरेको छ ।
जुट मिलको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा भारतकै विहार ११ लाई १२१ रनको फराकिलो अन्तरले पराजित गर्दै सुपोलले अन्तिम आठमा स्थान बनाएको हो ।
सुपोलले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको विहारले १३ ओभरमा ८५ रनमै समेटियो ।
विहारका आयुष सिंहले २९ रन बनाउँदा यश राजले १९ रन बनाए । खेलको प्लेयर अफ दि म्याच सुपोलका प्रेम कुमारले ४ ओभरमा १५ रन खर्चिएर सार्वधिक ६ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुपोलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०६ रनको विशाल लक्ष्य खडा गरेको थियो ।
सुपोलको ऋषु कुमारले ४० बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ५९ रनको योगदान गरे । यसैगरी महमद अमनले ५३ र विजय कुमार अविजित ३५ रन बनाए ।
अर्को खेलमा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाले दिएको १३८ रनको लक्ष्य पछ्याएको पटनाले १७.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पटनाको जितमा म्यान अफ द म्याच सुर्दशन सिंहले अविजित ८३ रन बनाए । उनले ५२ बलमा ६ छक्का र ७ चौका प्रहार गरे । यसैगरी अनुज रञ्जनले ३७ र कुमार श्रेयले १३ रनको योगदान दिए । झापाका लागि ज्ञानु श्रेष्ठले २ तथा सिद्धार्थ कुमारले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा १८.५ ओभरमा १३७ रनमा अलआउट भयो ।
झापाका लागि अंकित सुवेदीले २७ रन बनाउँदा भुपाल दङगालले २६ रन र समिर कार्कीले १९ रनको योगदान दिए । पटनाका लागि रिहान दास गुप्ताले र मन मोहनले समान ३ विकेट लिए ।
आयोजकका अनुसार मंगलबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लब र होराइजन क्रिकेटबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विराटनगर र सुपोल क्रिकेट क्लब (मुन) आमनेसामने हुनेछन् ।
