नेपाली यु-१९ राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा दिल्ली यु-१९ लाई पराजित गरेको छ ।
विरगन्जमा मंगलवार भएको ३ खेलको सिरिजको पहिलो खेलमा दिल्ली यु-१९ विरुद्ध नेपालले ५ विकेटको जित हात पारेको हो । दिल्लीले दिएको ९६ रनको सामन्य लक्ष्य नेपालले ३१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि अमर मिश्रले २७, रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाए । दिल्लीका लागि अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले समान एक विकेट लिए ।
त्यसअघि पर्सामा रहेको नारायणी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्ली २३.२ ओभरमा ९५ रनमा अलआउट भएको थियो ।
दिल्लीका लागि साथक पालले २९, शान्तानु यादव र आदित्य भण्डारीले समान १३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाए । नेपालका लागि अपराजित पौडेल र सिब्रिन श्रेष्ठले समान तीन, विपिनप्रसाद शर्मा र अशोक धामीले समान दुई विकेट लिए ।
यु-१९ विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल बिहीवार खेल्नेछ ।
