बक्सिङका महान खेलाडी जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ ।
“बिग जर्ज” उपनामले परिचित फोरम्यानले आफ्नो करियरमा अविश्वसनीय सफलता प्राप्त गर्दै दुईपटक विश्व हेभिवेट च्याम्पियन बन्ने कीर्तिमान राखेका थिएब।
उनले पहिलो पटक १९७३ मा जो फ्रेजरलाई पराजित गरी हेभिवेट टाइटल जितेका थिए । तर, एक वर्षपछि १९७४ मा “रम्बल इन द जंगल” नामक ऐतिहासिक खेलमा मोहम्मद अलीसँग पराजित भएका थिए ।
यद्यपि, उनले १९९४ मा ४५ वर्षको उमेरमा माइकल मूररलाई पराजित गर्दै पुनः विश्व च्याम्पियन बन्न सफल भए ।
१९४९ जनवरी १० मा टेक्सासको मार्शल सहरमा जन्मिएका फोरम्यानले आफ्नो जीवनका प्रारम्भिक दिनहरू निकै कठिन परिस्थितिमा बिताएका थिए । उनले १९६८ को मेक्सिको ओलम्पिकमा १० वर्षको उमेरमा स्वर्ण पदक जित्दै बक्सिङ करियरको शानदार सुरुवात गरेका थिए ।
१९७३ मा उनले जो फ्रेजरलाई ६ पटक रिङमा ढाल्दै अपराजित च्याम्पियनको रूपमा आफ्नो दबदबा कायम गरेका थिए । तर, १९७४ मा मोहम्मद अलीविरुद्ध खेलेको प्रसिद्ध खेलमा “रोप-ए-डोप” रणनीतिले थकाइएपछि आठौं राउन्डमा उनी नोकआउट भएका थिए ।
१९७७ मा उनले बक्सिङबाट सन्यास लिएको घोषणा गरे तर १९८७ मा उनी पुनः रिङमा फर्किए । १९९१ मा इभान्डर होलीफिल्डसँग हार बेहोरे पनि १९९४ मा माइकल मूररलाई हराउँदै ४५ वर्षको उमेरमा विश्व च्याम्पियन बनेका थिए ।
सन्यासपछि फोरम्यान प्रचारक बने । उनले टेक्सासमा चर्च स्थापना गर्दै धार्मिक सेवामा सक्रिय भए ।
फोरम्यान बक्सिङ बाहेक व्यावसायिक रूपमा पनि निकै सफल रहे । १९९४ मा उनले “जर्ज फोरम्यान ग्रिल” सार्वजनिक गरे, जुन विश्वभर करोडौं बिक्री भएको थियो । यो ग्रिलले उनले बक्सिङबाट कमाएको आम्दानीभन्दा धेरै लाभ दिएको थियो ।
फोरम्यान पाँच पटक विवाह बन्धनमा बाँधिएका थिए र उनका १२ सन्तान छन्ब। उनका पाँचै जना छोराको नाम उनले “जर्ज” राखेका थिए । उनले आफ्नो वेबसाइटमा लेखेका छन्, “मैले मेरा छोराहरूलाई एउटै नाम राख्न सुझाव दिएँ ताकि उनीहरूबीच सधैं केही साझा रहोस् ।”
फोरम्यानको निधनपछि खेल जगतका धेरै व्यक्तित्वहरूले श्रद्धाञ्जली दिएका छन् । पूर्व हेभिवेट च्याम्पियन माइक टायसनले लेखेका छन्, “फोरम्यानको योगदान बक्सिङ र खेल क्षेत्रमा सदैव सम्झिइनेछ ।”
बक्सिङ म्यागजिन द रिङ ले उनलाई “सधैंका लागि खेलका एक महान हस्ती” भनेको छ ।
उनको योगदानको सम्मानमा विश्वभरका खेल प्रेमी, बक्सिङ फ्यानहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् ।
