नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका लामाले आफ्नो पदिय जिम्मेवारी ठीकसँग निर्वाह नगर्दा कराते महासंघमा गम्भीर अव्यवस्था सिर्जना भएको खेल क्षेत्रका सरोकारवालाहरूको आरोप छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको महासंघको आधिकारिक पत्रले पनि लामाको भूमिकामाथि प्रश्न उठाएको छ । उक्त पत्रमा महासचिव दावा गुरुङको विधान संशोधन समितिमा अध्यक्ष लामालाई नै नियुक्त गरिएको उल्लेख छ । तर, नीति अनुरूप कुनै पनि संस्थामा कनिष्ठ पदाधिकारीले वरिष्ठ पदाधिकारीलाई नियुक्त गर्न नमिल्ने प्रावधान रहेकोले यो निर्णय प्रक्रियामाथि गम्भीर आशंका गरिएको छ ।

ओलम्पिक निर्वाचन र विगतका विवादहरू

अध्यक्ष लामाले नेपाल ओलम्पिक कमिटीको निर्वाचन प्रक्रियामा अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्दै आएका छन् । भन्ने आरोप पनि लागेको छ। अदालतका निर्णयहरूलाई सार्वजनिक रूपमा अपहेलना गर्दै आएको आरोप समेत उनको नाममा लागेको छ।

राखेपमा सदस्य सचिवको जिम्मेवारी सम्हाल्दा उनले खेलकुद नीतिहरूको पालनामा लापरवाही गरेको, असंवैधानिक निर्णयहरू लिएको, र खेलाडीहरूको हितविपरीत काम गरेको आरोप खेल समुदायबाट पटक-पटक उठ्दै आएको थियो । सियोल एसियाली खेलकुदमा नेपालका खेलाडी बिमला तामाङले करातेमा कांस्य पदक जित्दा महासंघको व्यवस्थापन कमजोरी देखिएको र सो घटनालाई लामाको नेतृत्वको गम्भीर त्रुटि मानिएको थियो ।

अन्तराष्ट्रिय गतिविधिमा संलग्नता

अहिले पुनः ओलम्पिक निर्वाचनको सन्दर्भमा युवराज लामाले कुबेतस्थित एसियाली ओलम्पिक बैठकमा प्रभाव पार्न सक्रिय भूमिका खेलेको चर्चा भइरहेको छ । खेलकर्मीहरूले उनलाई पर्दा पछाडिबाट चलखेल गर्ने व्यक्ति भनेर व्याख्या गरेका छन् । उनको क्रियाकलापप्रति असन्तुष्ट खेल पदाधिकारी तथा खेलाडीहरू उनलाई खेलकुद क्षेत्रमा अस्थिरता ल्याउने ‘खलनायक’का रूपमा चित्रण गरिरहेका छन् । यसै क्रममा कोशी प्रदेश र मदेश प्रदेशले लामालाई आफ्नो क्षेत्रभित्र ‘निषेधित’ गर्ने निर्णय लिएको समाचार बाहिर आएको छ ।

यस्ता गतिविधिले नेपाली कराते खेल र समग्र खेल क्षेत्रको विश्वसनीयता संकटमा ? पार्ने भन्दै सरोकारवालाहरूले महासंघभित्र व्यापक सुधारको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *