सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् ।
भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना गरेको १९ औं संस्करणको खुला म्याराथनमा उनले २ घन्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका हुन् । उनले नगद ५ लाख पुरस्कार प्राप्त गरेका छन् ।
केन्याका जुलियस मुरिउकी बाहोमेले २ सेकेन्डपछि पर्दै दोस्रो बने । उनले २ घन्टा १७ मिनेट २६ सेकेन्डमा दुरी पार गरे । यसैगरी केन्याकै ओनेस्मस गिताउ न्जोरोगे २ घन्टा १८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो बने । दोस्रो भएका जुलियसले ३ लाख र तेस्रो भएका ओनेस्मसले २ लाख नगद प्राप्त गरे ।
चौथो नेपालका किरणसिंह बोगटी भए । उनी साफका मेडलिस्ट पनि हुन् । पाँचौं निरज भट्ट क्षेत्री र छैटौं रिखुलाल सिंन्जाली मगर बने ।
हाफ म्याराथनमा पुरुषतर्फ सन्तोष विक्रम विष्ट र महिलातर्फ सन्तोषी श्रेष्ठले वाजी मारे । सन्तोषले एक घन्टा ९ मिनेट ७सेकेन्ड र सन्तोषीले एक घन्टा २० मिनेट ३ सेकेन्डमा दौड पूरा गरिन् ।
पुरुषतर्फ गजेन्द्र राई दोस्रो र केन्याका इमानुएल किप्टारबेई तेस्रो र महिलातर्फ स्वारोन जेनोटिच दोस्रो र पुष्पा भण्डारी तेस्रो बने । महिलातर्फ हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार नगद पाए ।
पुरुषतर्फ हाफ म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार नगद पुरस्कार प्रदान गरियो ।
