पोखरा । सशस्त्र प्रहरी बल एपिएफ क्लब टोली एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।
लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफ विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो ।
एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । एपिएफले पहिलो सेट २५-७, दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो ।
पहिलो क्वालिफायरमा पुनः एपिएफ र टाइगर ग्रुपबिच बिहीबार प्रतिष्पर्धा हुनेछ ।
यसअघि आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गरेको हो ।
