चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गर्दा त्रिभुवन आर्मी फुटबल क्लब भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीविरुद्ध गोलवर्षा गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
गयेसपुरलाई १०–० ले पराजित गर्दै आर्मी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।
खेलमा चन्द्रा र हेमाको ह्याट्रिकसँगै सुक्रिया मिया २, जेनिफर राना मगर र दिपा शाहीले समान १ गोल गरे । खेलको पाँचौँ मिनेटमा आर्मीले अग्रता लियो । बिमला चौधरीको प्रहार पोस्टमा लागेर रिबाउन्स भएको बललाई स्ट्राइकर चन्द्राले गोल गरिन् ।
१६ औँ मिनेटमा चन्द्राले नै अग्रता दोब्बर बनाइन् । मैदानको मध्यभागबाट चन्द्राले गरेको चिप सट गोल भएको थियो । १८ औँ मिनेटमा दिपा शाहीको क्रस पासमा हेमाले गोल गर्दै आर्मीको जित पक्का गरिन् ।
३३ औँ मिनेटमा सुक्रियाले अर्को गोल थपिन् । ४३ औँ मिनेटमा चन्द्राले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक बन्यो । यसअघि उद्घाटन खेलमा झापाकी सजिना स्याङताङले ह्याट्रिकसहित ४ गोल गरेकी थिइन् ।
४४ औँ मिनेटमा बिमला चौधरीको क्रस पासमा हेमाले हेडमार्फत गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सुक्रियाले व्यक्तिगत दोस्रो तथा टोलीको लागि सातौँ गोल गरिन् ।
४६ औँ मिनेटमा हेमाले ह्याट्रिक पूरा गरिन् । ७९ औँ मिनेटमा जेनिफरले गोल गरिन् । ८९ औँ मिनेटमा दिपाले आर्मीका लागि गोल गरिन् ।
विजेता टोलीकी चन्द्रा प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाइन् । त्यस्तै, कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले प्रोत्साहनस्वरुप नगद १५ हजार रुपैयाँ प्रदान गरे ।
भोलि हुने तेस्रो क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
