नेपाल फुटबल लिग (एनएफएल) मा थप तीन टोली सहभागी गराउने उद्देश्यले आह्वान गरिएको बोलपत्र पेस गर्ने म्याद शुक्रबारसम्म थप गरिएको छ ।
चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्याइएको एनएफएलका चेयरमेन कल्याण गुरुङले बताएका छन् । यसअघि कात्तिक ३० (नोभेम्बर १६) सम्मको समय दिइएको थियो ।
एनएफएलले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेत सहरको प्रतिनिधित्व गर्ने नयाँ फुटबल क्लब स्थापनाका लागि बोलपत्र आह्वान गरेको थियो ।
नयाँ क्लबका लागि आवेदन दिने पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ ।
नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने घोषणा भइसकेको छ । पहिलो संस्करणमा घरेलु फुटबलका सात क्लबले सहभागिता जनाउने निश्चित छ ।

नेपाल फुटबल लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी पुरानै क्लबका रुपमा हुनेछन् । थप तीन टोली समावेश भएपछि लिगमा सहभागी क्लबको संख्या १० पुग्नेछ ।
रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने जनाएको छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।
