काठमाडाैं। उज्बेकिस्तानकोमा जारी ४६औँ चेस ओलम्पियाड तेस्रो चरण नेपालका लागि सुखद् रहन सकेन । महिला तर्फ एन्जल महर्जन र निहाना श्रेष्ठ तथा पुरुष तर्फ सिएम रुपेश जैसवालको बराबरी बाबजुद टिम पराजित हुन पुगेका छन् ।
तेस्रो चरणमा नेपालको महिला टोलीले न्युजिल्यान्डसँग ३–१ को हार बेहोरेको छ । नेपालका लागि एन्जल महर्जनले आधा अंक जोड्दा निहाना श्रेष्ठले पनि आधा अंक हासिल गरिन् । यस सँगै ब्यक्तिगत रुपमा एन्जलले ३ खेल खेल्दै १.५ अंक, कृतिसरा अधिकारीले २ खेलमा १ अंक, सिन्दिरा जोशीले ३ खेलमा १ अंक र निहानाले २ खेलमा ०.५ अंक बनाएका छन् ।
आज पहिलो वोर्डमा न्युजिल्यान्डकी २११४ रेटेड डब्लूआईएम इजाबेल ईशुआन निङ र १६४४ रेटेड एन्जल महर्जन बीचको खेल बराबरीमा सकिएको थियो । त्यस्तै तेश्रो वोर्डमा १५७५ रेटेड निहाना श्रेष्ठले १९१६ रेटेड डब्लूएफएम नादिया ब्रगान्जा सँग बराबरी खेलिन् । नेपाली १७४४ रेटेड कृतिसरा अधिकारी १८७४ रेटेड डब्लूएफएम अन्या थर्नरसँग र १५६५ रेटेड सिन्दिरा जोशी १८५२ रेटेड डब्लूएफएम एमिली क्याथे गानसँग पराजित भइन् ।
यसैगरी पुरुष प्रतिस्पर्धामा नेपाल च्याम्पियन २१५१ रेटेड सिएम रुपेश जैसवालले अल्बानियाका २३१२ रेटेड आईएम द्रितान मेहमेतिसँग बराबरी खेलेका छन् ।
३.५–०.५ को अप्रिय नतिजा स्वीकारेर हार्दै गर्दा न्यूजिल्याण्डका २३८८ रेटेड विरुद्ध नेपाल सिएम पुरुषोत्तम सिलवाल, २२९२ रेटेड सँग हारेका सुश्रुत दाहाल र २२९२ रेटेड सँग हारेका आशिष फुयाँल अर्को खेलका लागि तयारीमा छन् ।
एफएम रुपेश जैसवाल १.५ अंक, आशिष् फुयाँल १.५, सिएम सुश्रुत दहाल १ अंक सहित प्रतिस्पर्धामा उपस्थिति देखाउदै छन् । चौथो चरणमा २ – २ अंक बनाएका नेपाली पुरुष टिम टिमोर लेट्से सँग तथा नेपाली महिला टोली दोमिनिकन रिपब्लिका सँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको खुल्ला तर्फ संयुक्त ६ – ६ अंक जोडेर रोमानिया, फ्रान्स, पोल्यान्ड, उज्बेकिस्तान, चीन अगाडि रहेका छन् भने महिला तर्फ अमेरिका, रोमानिया, भारत, पोल्यान्ड, उज्बेकिस्तान शीर्ष स्थानमा छन् । यसैबीच नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले दक्षिण एशियाली देशका प्रतिनिधिहरु रहने ३.२ जोनल निर्वाचन सम्बन्धि छलफल गरेका छन् ।
