काठमाडौं। बुढानीलकण्ठ यू–१६ ब्वाइज टी–वान रग्बी प्रतियोगिताको उपाधि इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ ।
नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–१०, आकाशेधारास्थित ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा इन्टरनेसनल जोसेफ स्कुलले जोसेफ हाइस्कुललाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै इन्टरनेसनल जोसेफ स्कुलले नगद सात हजार रुपैयाँ प्राप्त गर्दा जोसेफ हाइस्कुलले पाँच हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी इन्टरनेसनल जोसेफ स्कुलका पासाङ शेर्पा घोषित भए । उनले ट्रफी प्राप्त गरे ।
यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा शिशु मिलन स्कुलले अमर स्कुललाई १–० ले पराजित गर्यो । तेस्रो भएको शिशु मिलन स्कुलले तीन हजार तथा चौथो भएको अमर स्कुलले दुई हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समापन समारोहमा बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई प्रमुख अतिथि तथा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे विशेष अतिथिका रूपमा उपस्थित थिए ।
सो अवसरमा वडाध्यक्ष भट्टराईले बुढानीलकण्ठ नगरपालिका–१० रग्बीसहित विभिन्न खेलका लागि राम्रो सम्भावना बोकेको क्षेत्र रहेको बताए । उनले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालनका लागि आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहने बताए ।
यसअघि भएको उद्घाटन समारोहमा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि तथा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा विशेष अतिथि थिए । नेपाल विद्यालय रग्बी आयोगका अध्यक्ष दीपक अधिकारीले कार्यक्रमको सभापतित्व गरेका थिए । आयोगका महासचिव कमलप्रसाद ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए ।
उद्घाटन समारोहमा नेपाल विद्यालय रग्बी आयोगका पदाधिकारी तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्रदेशका प्रतिनिधिको उपस्थिति थियो ।
प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका थिए । नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा खेलाडीहरूले अनुशासन, टोलीगत भावना र खेलभावनासहित प्रतिस्पर्धा गरेका थिए ।
विद्यालय तहमा रग्बी खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल रग्बी संघले प्रतियोगितालाई सहयोग गरेको थियो । नेपाल विद्यालय रग्बी आयोगले विद्यालय तथा कलेजस्तरमा रग्बी खेलको विस्तारसँगै नियमित प्रशिक्षण र प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ ।
२०७५ सालमा गठन भएको आयोगले नेपालको सातै प्रदेशमा विद्यालय तथा कलेजस्तरमा रग्बी खेल विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
