२०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
बिहीबार जापानको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानमाथि ५ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रनको योगदान दिए । जोराले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।यस्तै, रोहितकुमार पौडेल ३३ रनमा अविजित रहे । ३२ बल खेलेका रोहितले ४ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले ९ रन जोड्दा गुल्सन झा १ रनमा अविजित रहे ।
अफगानिस्तानका लागि फरिदुन दाउदजई, अरब गुल र अब्दुल्लाह अहमदजाईले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो ।
अफगानिस्तानका लागि फैसल खान र जादरान नजिबुल्लाहले समान ३०-३० रन जोडे । ३३ बल खेलेका फैसलले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, जारदनले ४० बलमा २ चौका प्रहार गरे । यस्तै, नांगेयालिया खानले १७ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । १५ बल खेलेका नांगेयालियाले ३ चौका प्रहार गरे ।
नेपालका लागि कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका कुशलले १ मेडन राख्दै २१ रन दिएर ४ विकेट लिए । यस्तै, ४ ओभर नै बलिङ गरेका राजवंशीले १३ रन दिँदै ३ विकेट लिएका थिए ।
नेपाल अफगानिस्तान र जापानसँगै समूह ‘ए’ मा छ । यसअघि समूहको पहिलो खेलमा बिहीबार अफगानिस्तानले जापानलाई हराएको थियो । समूहबाट शीर्ष दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टिमसँग खेल्नेछ ।
अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
