नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् ।
थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक जितेको नेपाली टोलीकी प्रशिक्षक मुना खवास मगरले जानकारी दिइन् ।
राकेश सापकोटा र आरोन श्रेष्ठले रजत तथा सिरिषा खनाल र केल्साङ दाहालले फरक विधामा सफलता पाएका हुन् । राकेशले १८ वर्षमाथि उमेरसमूहको स्पिड किक विधामा रजत पदक जिते । यही उमेरसमूहमा नै स्पिड किकमा शिरिषाले नेपाललाई कांस्य पदक दिलाइन् ।
केल्साङले क्योरोगी १२–१४ वर्ष उमेर समूहमा सफलता पाएका हुन् । ४७ केजीमुनिमा उनले कांस्य पदक जिते । तीनै खेलाडी न्यू गोकर्णेश्वर तेक्वान्दो डोजाङका हुन् । आरोनले ९–१० वर्ष उमेरसमूहको स्पिड किक विधामा नै उत्कृष्ट प्रदर्शन गर्दै पदक जिते । उनी विद्याआर्जन सेकेन्डरी स्कुलका हुन् । यही प्रतियोगितालाई लक्षित गर्दै नियमित प्रशिक्षण गरेकाले सफलता मिलेको प्रशिक्षक मुनाले बताइन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शन उत्साहजनक रहेको र आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्ने प्रेरणा मिलेको उनको भनाइ छ ।
