काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामामा नेपालका अमिर भ्लोन र रेणु तामाङ मंगलबार पराजित भएका छन् ।
मंगोलियाको उलानबटार भएको प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि प्रिक्वाटरफाइनलमा अमिर चीनका नि झेयीसंग १०–६ ले पराजित भए ।
महिला ४७ केजीमुनि क्वाटरफाइनलमा रेणुले काजाखस्तानकी मुरातोभा ऐनुरलाई ८–६ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
सेमिफाइनलमा रेणु उज्वेकिस्तानकी मुसिनोभा मदिनासंग ४–१६ पछि परिन् । सेमिफाइनलमा पराजित भएपनि रेणुले कांस्य पदक भिडन्तका लागि पुनः अवसर पाएकी थिइन् । त्यसमा रेणु इरानकी जाभादी नार्गेससंग चुकिन् ।

दुवै राउन्ड ०–० को बराबरी अवस्थामा सकिएपनि ‘प्रोटेक्टर एन्ड स्कोरिङ सिस्टम’ का आधारमा रेणु पदकबाट वण्चित भएको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
स्वर्ण र रजत विजेता मात्र आईची–नागोया एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने प्रावधान रहेकाले दुवै खेलाडी छनोट हुन सकेनन् ।
छनोट नभएपनि ‘वाइल्ड कार्ड’ का पहल गर्ने प्रशिक्षक लामाले बताए । पलेशा गोबद्र्धन भने विश्व वरीयतका आधारमा आईची–नागोया एसियाली पारा तेक्वान्दोका लागि यसअघि नै छनोट भइसकेकी छन् ।
