दाङको घोराहीमा चौथो राष्ट्रिय स्कुलस्तरीय हाप्किडो प्रतियोगिता-२०८२ हुने भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा र दाङ भ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा मंसिर १६ गतेदेखि २० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

नेपाल हाप्किडो संघले दाङ भ्याली कलेजमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिताका संयोजक तथा दाङ भ्याली कलेज डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाका अनुसार सातै प्रदेशका दुई सयभन्दा बढी डोजाङका करिब दुई हजार विद्यार्थी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा छात्र-छात्रा दुबै समूहले विभिन्न तौल र उमेर समूहमा व्यक्तिगत तथा समूहगत रूपमा प्रतिस्पर्धा गर्नेछन् ।

थापाका अनुसार प्रतियोगिता घोराहीस्थित दाङ भ्याली कलेजको खेलमैदानमा सञ्चालन हुनेछ । विद्यालयस्तरमै प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउन सक्ने दक्ष खेलाडी तयार पार्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । साथै, आत्मरक्षा सीप विकास र विद्यार्थीहरूमा अनुशासन तथा सकारात्मक दृष्टिकोण प्रवद्र्धन गर्ने उद्देश्यसमेत प्रतियोगिताको रहेको छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र टोलीलाई पदक, प्रमाणपत्र र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा दाङ भ्याली ग्रुपका अध्यक्ष प्रा.डा. बिनबहादुर सिंह वली प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ भ्याली कलेजका प्राचार्य बिष्णु बञ्जाडे, नेपाल हाप्किडो संघका केन्द्रीय उपमहासचिव समिर हलुवाई, संघकै केन्द्रिय सदस्य तथा प्रदेश खेलकुद परिषद, गण्डकीका खिम बहादुर पुन मगरलगायतका वक्ताहरूले प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादनसँगै दाङको आर्थिक र पर्यटन विकासमा टेवा पुऱ्याउने धारणा राखेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य नेपाल हाप्किडो संघका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश हाप्किडो संघका अध्यक्ष राजेन्द्र मडाईले गरेका थिए भने सहजीकरण दाङ भ्याली कलेजका प्राध्यापक थम्मन बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *