दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहिवार दुई खेल हुँदैछ ।
पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ।
रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ ।
अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । प्रतियोगितामा जनकपुर र पोखराले दुई खेल खेल्दा दुवै खेलमा पराजित भएका छन् ।
