युनिटी कप टि-२० आई सिरिजको दोस्रो खेलमा नेपालले वेष्ट इन्डिजलाई जितका लागि १७४ रनको लक्ष्य दिएको छ ।
युएईको शारजाह क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७४ रनको योगफल बनाएको हो ।
नेपालका लागि आसिफ शेखले अविजित रहँदै सर्वाधिक ६८ रन बनाए । उनले ४७ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका हुन् । त्यस्तै सन्दिप जोराले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाए । नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
आदिल आलम अन्सारी ५ बलमा १ चौका र १ छक्कासहित ११ तथा गुल्शन झाले ६ रन बनाए । वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान २-२ विकेट लिए । जेदिया ब्लेड्सको नाममा एक विकेट रह्यो ।
यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितेमा नेपालले एक खेल अगावै सिरिज पनि जित्नेछ ।