विराटनगरमा जारी चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा शनिबार ४ विद्यालय विजयी भएका छन् ।
विराटनगर–१ स्थित परोपकार खेल मैदानमा भएको सातौं दिनको खेलमा डन बस्को स्कुल, सहिद स्मृति आवशीय मावि, दिल्ली पब्लिक स्कुल र स्मृति इङ्लिस स्कुल विजयी भएर अर्को चरणमा पुगेका हुन् ।
आजको पहिलो खेलमा डन बस्को स्कुलले जनपथ माविलाई ४-१ ले पराजित गर्यो । डन बस्कोका लागि प्रकाश कामतले २ तथा तनुज राजवंशी र नितेश राजवंशीले समान १-१ गोल गरे । जनपथका लागि प्रशान्त आर डीले १ गोल फर्काए । खेलको म्यान अफ द म्याच डन बस्कोका बिधान भण्डारी घोषित भए ।
त्यसैगरी दोस्रो खेलमा सहिद स्मृति आवशीय माविले आदर्श माविलाई ३-० ले हरायो । सहिद स्मृतिको जितमा संगम दर्जीले २ तथा नितेश अधिकारीले १ गोल गरे । खेलको म्यान अफ द म्याच सहिद स्मृतिका साहिल गिरी घोषित भए ।
तेस्रो खेलमा दिल्ली पब्लिक स्कुलले अर्पण स्कुललाई ३-२ ले स्तब्ध बनायो । दिल्ली पब्लिकका लागि अमन खवास र जेनिल बिष्टले समान १-१ गोल गरे । दिल्ली पब्लिकले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो । अर्पणका लागि रोजन थापा र कमल मगरले समान १-१ गोल गरे ।खेलको म्यान अफ द म्याच दिल्ली पब्लिकका रुद्र माझी चुनिए ।
आजै भएको चौथो तथा अन्तिम खेलमा स्मृति स्कुलले शारदा माविलाई सडेन डेथमा ९-८ ले पराजित गर्यो । खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच स्मृति स्कुलका अभिनास सुतिहार घोषित भए ।
प्रतियोगिताअन्तर्गत भोलि आइतबार पनि चार खेल हुनेछन् । भोलिको पहिलो खेलमा नरग्राम मावि टंकी र बाल आदर्श स्कुल ईटहरी, दोस्रो खेलमा, मदरल्याड स्कुल विराटनगर र सरस्वती मावि बिराटनगर, तेस्रो खेलमा साई चिल्ड्रेन हाेम ईटहरी र पाेखरिया मावि विराटनगर तथा चौथो खेलमा केएमसी स्कुल विराटनगर र सनसाईन स्कुल बिराटनगर भिड्नेछन् ।
वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको हो ।
प्रतियोगितामा मोरङ र सुनसरी गरी कुल ३९ विद्यालयको सहभागिता रहेको छ र फाइनल खेल असार २० गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्पोर्टी साइकल प्राप्त गर्नेछ ।
