मुम्बई इन्डियन्स इण्डियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

बिहिवार राति भएको खेलमा राजस्थान रोयल्सलाई १०० रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १७ ओभरमा मात्र ११७ रन बनाएर अलआउट भयो ।

राजस्थानका लागि जोफ्रा आर्चरले ३० रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । गुजरातविरुद्ध अघिल्लो खेलमा सतक बनाएका वैभव सुर्यवंशी डक आउट भएका थिए ।

मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले समान ३ तथा जस्प्रित बुमराहले २ र हार्दिक पान्ड्या र दीपक चाहरले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारिंत २० ओभरमा २ विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको थियो

मुम्बईको जितमा ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले पहिलो विकेटको लागि ११६ रनको साझेदारी गरेपछि मुम्बई बलियो बन्यो ।

रायनले ३८ बलमा सात चौका र तीन छक्कासहित ६१ रन बनाए । रोहितले ३६ बलमा ९ चौकासहित ५३ रन बनाएका हुन् । यस्तै सुर्यकुमार यादवले र हार्दिक पाण्ड्याले समान अविजित ४८ रन बनाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको मुम्बईले ११ खेलबाट १४ अंक बनाएको छ । समान खेलबाट मात्र ६ अंक जोडेको राजस्थान तीन खेलअगावै प्लेअफ होडबाट बाहिरिएको छ ।

राजस्थान प्लेअफ होडबाट बाहिरिने दोस्रो टिम हो । बुधबार चेन्नई प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *