आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम तयारीमा रहेको नेपाली महिला क्रिकेट टोली भारतमा भएको अभ्यास खेल सिरिजमा सान्त्वना जित निकालेको छ ।
मंगलबार दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो खेलमा नेपालले ४ रनको जित निकालेको हो । नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।
आरपिसिएकी नजमा खानले अविजित ४७, वारुले २९, मान्वीले २० रन बनाए । नेपालका लागि पूजा महतोले दुई तथा कविता कुँवर, शवनम राई र रिया शर्माले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाउँदा रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महताले १६ र कप्तान इन्दु बर्माले १५ रन बनाए ।
आरपिसिएका लागि दिक्षा शर्मा र मेधवीले समान दुई तथा तारणी जोशी र पारले समान एक विकेट लिए ।
यसअघि नेपालले दिल्लीको टोलीसँग तीन हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । आरपिसिएसँगको पहिलो खेलमा हार बेहोरेको थियो ।
नेपाली टोली अब विश्वकप एसिया छनोटमा सहभागी हुन दिल्लीबाटै थाइल्याण्ड जानेछ । विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा
