प्रथम बागमती प्रदेश स्पोर्ट्स अवार्ड यही जेठ ४ गते हुने भएको छ ।
बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको योजना प्रदेशका पूर्व र वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यका साथ बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने लागेको हो ।
अवार्ड कार्यक्रम जेठ ४ गते आइतबार प्रदेशको राजधानी हेटौंडास्थित बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामायको प्रमुख आतिथ्यतामा आयोजना हुनेछ ।
खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडी जसले प्रदेश र देशको सम्मान बढाउन अत्यन्तै महत्वपूर्ण योगदान गरेका र नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्न अवार्डको आयोजना गरिन लागिएको बताइएको छ ।
कार्यक्रम सम्पन्न गर्न व्यवस्थापनको सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय प्राविधिक उप समिति गठन गरिएको छ । उक्त समितिले अवार्डका लागि खेल व्यक्तिगत नाम सिफारिस गर्नेछ ।
खेलाडी वा प्रशिक्षकका रूपमा विगतमा पुर्याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यले पनि अवार्ड दिने व्यक्तिको छनौटको मापदण्डमा ध्यान राखिने छ ।
बागमती प्रदेश स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडी (महिला, पुरुष), युवा, प्रशिक्षक, लाइफ टाईम एचिभमेन्ट, बागमती खेलकुदमा योगदान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकार लगायत १९ विधामा १२ जना खेलकर्मीलाई सम्मान गरिनेछ ।
यसका साथै उत्कृष्ट महिला, पुरुष, लाइफ टाईम एचिभमेन्ट अवार्ड, योगदान खेलकर्मी, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने अन्यलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
