क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलप्रतिको प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराएको हो ।
क्यानको आयोजनामा २०७९ साल पुस ९ गतेदेखि २७ गतेसम्म किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिता दौरान आदिललाई स्पट फिक्सिङको आरोप लागेको थियो ।
त्यसपछि क्यानले आदिललाई एन्टि क्रप्सन कोड बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
क्यान इन्टेग्रीटि कमिटीले आवश्यक प्रकृया पुरा गरी प्रतिबन्ध फुकुवा गर्ने निर्णय सहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने गरी यहि बैशाख २१ गतेदेखि आदिलको प्रतिबन्ध फुकुवा गरिएको क्यानले जनाएको छ ।
