आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजती सुरुवात गरेको छ ।

आइतबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ–लुइस मेथड (डिएलएस) मेथड अनुसार ५ रनले पराजित गरेको हो । जितसँगै नेपालले दुई अंक हासिल गरेको छ ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो ।

यूएईका लागि किरण राईले अविजित १०४ रनको शतकीय पारी खेले । यसैगरी महोमद रायन खानले ३५ र करन धिमानले १५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेपालका लागि अशोक धामी र सन्तोषकुमार यादवले समान २ तथा अभिषेक तियारी र नरेन भट्टले समान १ विकेट लिए ।

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा वेट आउटफिल्डका कारण ढिला सुरु भएर ४० ओभरमा घटाइएको खेलमा नेपालले ९ विकेट गुमाएर २०० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान नरेन भट्टले सार्वधिक ६७ रन बनाए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । यसैगरी दिलसाद अलीले ३४ तथा साहिल पटेलले ३२ रन बनाए ।

यूएईका लागि उदिस सुरीले सार्वधिक ३, वि युग शर्मा र शालोम डिसुजाले समान २ तथा अलीअस्घर शुम्स र करण धिमानले समान १ विकेट लिए ।

आजै माथिल्लो मुलपानीमा भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई हराएर विजयी सुरुवात गरिसकेको छ ।

भोलि नेपालले ओमानसँग र अफगानिस्तानले हङकङसँग खेल्नेछ ।

जारी विश्वकप छनोटमा नेपाल, यूएई अफगानिस्तान, ओमान र हङकङ सहभागी छन् । विजेता टिमले सन् २०२६ मा हुने यू-१९ विश्वकप खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *