दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टिम हो ।
बिहीबार भएको खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसिबी) लाई ६ विकेटले पराजित गरेको हो । आरसिबीले दिएको १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
केएल राहुलले अविजित ९३ रनको पारी खेले । ट्रिस्टन स्टब्सले अविजित ३८ रन बनाए । ५८ रनमा ४ विकेट गुमेपछि राहुल र स्टब्स मिलेर १११ रनको शतकीय साझेदारी गर्दै जित दिलाए ।
आरसिबीका लागि भुवनेश्वर कुमारले २ तथा यश दयाल र सुयश शर्माले समान १ विकेट लिए ।
त्यसअघि एम चिन्नास्वामी स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले ७ विकेट गुमाएर १६३ रनको योगफल तयार पारेको थियो ।
आरसिबीका लागि फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए । कप्तान रजत पाटीदार २५, विराट कोहली २२, कुर्णाल पाण्ड्या १८ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन ।
दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले समान २ तथा मुकेश कुमार र मोहित शर्माले समान १ विकेट लिए ।
जितसँगै चार खेलबाट ८ अंक जोडेको दिल्ली दोस्रो स्थानमा यथावत् छ । समान अंक भए पनि दिल्लीले शीर्षस्थानमा रहेको गुजरातभन्दा एक खेल कम खेलेको छ । पराजित आरसीबी ५ खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
