इण्डियन प्रिमियर लिग (आईपिएल) मा पञ्जाब किंग्सले पाँचौं जित हात पारेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) लाई ५ विकेटले पराजित गरेको हो ।
वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा आरसिबीले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे ।
पञ्जाबका लागि नेहाल वधेरा अविजित ३३, प्रियान्श आर्याले १६ र जोश इङ्लिसले १४ रन र प्रभसिमरन सिंहले १३ रन बनाए । आरसिबीका लागि जोश हेजलउडले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
त्यसअघि एम चिन्नास्वमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो ।
आरसिबीका लागि टिम डेभिड अविजित ५० रनमा अविजित रहँदा कप्तान रजत पाटिदारले २३ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । पञ्जाबका लागि मार्को यानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले समान २ तथा जेभियर बार्टलेटले १ विकेट लिए ।
जितसँगै ७ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । पराजित आरसिबी समान खेलबाट ८ अंकका साथ चौथो स्थानमा झरेको छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक छ ।
