विराटनगर । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरद्वारा आयोजित चौथो कोशी प्रदेश खुल्ला व्यायाम प्रतियोगिता २०८१ शनिबार विराटनगरको शहिद रङ्गशालामा भव्यताका साथ सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको प्रवर्द्धन र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आयोजित उक्त प्रतियोगितामा १३० पुरुष र ३० महिला गरी कुल १६० जना खेलाडीहरूको सहभागिता रहेको थियो ।
संस्थाका संस्थापक अध्यक्ष सुमन बन्जाराको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
त्यसैगरी कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत विशिष्ट अतिथि र राष्ट्रिय युवा उद्यमी फोरम (NYEF) विराटनगरका संस्थापक अध्यक्ष सुकदेव कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
प्रतियोगितामा पुरुष सर्किट विद्या तर्फको खेलमा आयुष नेम्वाङले प्रथम, मुकेश अगुवाले द्वितीय र एइनिस प्रधानले तृतीय स्थान हासिल गरे ।
महिला सर्किट विद्या तर्फको खेलमा महिमा यखा राईले प्रथम, सपना मगरले द्वितीय र भावना घिमिरेले तृतीय स्थान प्राप्त गरिन् ।
त्यसैगरी खुल्ला बार विद्या तर्फको खेलमा साहिल लिबाङ्गले प्रथम, सुशान्त नरसिंह राणाले द्वितीय र संजोक थापाले तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरको तर्फबाट मेडल र ट्रोफीका साथै प्रथम स्थान प्राप्त गर्नेलाई नगद रु. १५,०००, द्वितीय स्थान हासिल गर्नेलाई रु. ९,००० र तृतीय स्थान प्राप्त गर्नेलाई रु. ६,००० सहित विभिन्न आकर्षक उपहारहरू प्रदान गरिएको थियो ।
