नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने वोड्‌छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ ।

आयोजकले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ ।

सुरुमा खेलाडीहरुलाई प्रतियोगिताको स्वरुप बारे जानकारी गराइनेछ । त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरु हुनेछ ।

पुरुष र महिला दुवैमा विजेताले नगद ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको नियम अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ।

यस प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीको रुपमा इन्डियन माउन्टेनिरिङ फाउण्डेसन (आईएमएफ) का चिफ रुट सेटर विवश रोए नेपाल आएका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालस्थित वोड्छु पिक प्रमोसन र अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला रहेको छ । स्पोर्ट क्लाइम्बिङ खेलको विकास र खेलाडीहरुको विकास र अभिवृद्धि गर्नका लागि वोड्‌छु पिक र मुसा मसलाले प्रायोजन गरेको जनाएको छ ।

स्पोर्ट क्लाइम्बिङ खेलकुदका साथै साहसिक खेलकुद तथा खेलकुद पर्यटन क्षेत्रको विकासमा पनि सहयोग गर्नेछ । नेपालमा स्पोर्ट क्लाइम्बिङको धेरै सम्भावना रहेकोले यो खेलको प्रबर्धन गर्न सके खेलाडीहरुले अन्तर्राष्ट्रिय रुपमा राम्रो नतिजा ल्याउन सक्ने संघको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *