नेपाली यू-१९ क्रिकेट टोलीले दिल्ली यू-१९ टोलीसँगको ५० ओभरको अभ्यास खेलको सिरिज क्लिन स्वीप गरेको छ ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा शनिबार सम्पन्न तेश्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो ।
जितसँगै नेपालले तीन खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको छ । यसअघि नेपालले पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा १०२ रनको जित निकालेको थियो ।
नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७७ रनमा अलआउट भयो । दिल्लीका लागि कप्तान रौनक वेग्हेलाले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि दयानन्द मण्डलले ४, विपिनप्रसाद शर्माले २ तथा नितिश पटेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३९.४ ओभरमा अलआउट हुँदै १२२ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८, दिलसद अली र साहिल पटेलले समान १७, सोहिल कुँवरले १५ र कप्तान सन्तोष यादवले १० रन जोडे ।
दिल्लीका लागि किरिट कौशिकले ५, रौनक वेग्हेलाले ३ तथा शुभम दुबे र अमन चौधरीले समान १ विकेट लिए ।
अप्रिलमा नेपालमै हुने आईसीसी यु-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप सिरिज आयोजित गरिएको थियो । एसिया छनोट अघि नेपालले बिहीवारदेखि अफगानिस्तानसँग ३ खेलको सिरिज खेल्ने छ ।
