नेपाल सहित विश्वका विभिन्न मुलुकमा वसोवास गर्दै आएका १० नेपाली धावकहरु आगामी महिना जापानमा आयोजना हुने टोकियो म्याराथुन २०२५ मा सहभागी हुने भएका छन् ।
नेपाल, अमेरिका, बेलायत र मकाउमा रहदै आएका नेपालीहरु टोकियो म्याराथनमा सहभागी हुने पक्का भएको हो । नेपालबाट जुम्लारारा आईअल्टीच्युट अल्ट्रा लगायतमा सहभागीता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउका विरु राई अमेरिकाकाबाट सन्तोष कर्माचार्य, युवराज खनाल र जीत बुढा मगरले सहभागिता जनाउँदै छन् ।
यसैगरी सवैभन्दा धेरै बेलायतबाट विश्वका बिभिन्न प्रतियोगितामा सहभागिता जनाई सकेका ५ जना नेपाली धावकहरु आत्मराम दाहाल, अनु सिग्देल, प्रतिक गौचन, नारायण पन्त, सागर गुरुग सहित नेपाली समुदायसंग नजिक रहेर सहभागी हुने २ जना भारतियहरु ऋषि अत्री र कुष्ण अत्रीले समेत सहभागिता जनाउने छन् ।
नेपाल रन युके नामक संस्थाको संस्थापक समेत रहनु भएका धावक आत्मराम दाहालका अनुसार पहिलो पटक ठूलो संख्यामा नेपालीहरुले टोकियोमा सहभागिता जनाउन लागेका हुन् । हजारौको सख्यामा जापान तथा विश्वभरिका धावकहरु सहभागिता रहने प्रतियोगितामा गोलाप्रथा तथा प्रायोजकको सिफारिसका आधारमा मात्र सहभागिता हुन सकिने प्रावधान रहेको छ ।
आगामी मार्च २ आइतबार बिहान टोकियो सिन्जुकु शहरबाट म्याराथुनमा सुरु हुनेछ । १० किलोमिटर छोटो र ४२ किलोमिटर लामो दुरीको प्रतिस्पर्धा टोकियो स्टेशनमा सकिने छ । सबै नेपाली खेलाडीहरु ४२ किलोमिटर लामो दुरीको दौडमा भाग लिने छन् ।
