झापाको बुद्धशान्तिमा हुने दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंका अनुसार प्रतियोगिताको लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको काम पूरा भएको प्रसाईंले जानकारी दिए ।

माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताका लागि आयोजकले यसअघि नै खेल तालिका सार्वजनिक गरिसकेको छ ।

दोस्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको अध्यक्ष प्रसाईंले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।

हरेक खेलको प्लेयर अफ द म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ द म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

खेलतालिका अनुसार प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।

त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।

माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।

गत वर्ष फागुनमा भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो । यसैबीच, प्रतियोगिताको दौरान नरपाली र भारतीय महिला टोलीबीच दुई खेल हुने आयोजकले जनाएको छ ।

Source: Jhapa Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *