नेपालमा जारी पहिलो संस्करणको सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को फाइनल खेल आज शनिबार हुँदैछ।
च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली टिप हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोज भिड्दैछन्। काठमाडौंको त्रिपुरेश्वतरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने यो खेल दिउँसो ३:३० बजे शुरु हुनेछ ।
जारी च्याम्पियनसिपमै हेल्प नेपाल र क्यालिकट भिड्न लागेको दोश्रो पटक हो। यसअघि लिग चरणको भेटमा हेल्प नेपालले क्यालिकटलाई ३-२ को सेटमा हराएको थियो । हेल्प नेपाल आज आफ्नो सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहँदा क्यालिकट लिग चरण्को हारको बदला लिदै उपाधि जित्ने रणनीतिसहित कोर्टमा उत्रिने छ ।
लिगको शीर्ष स्थानमा रहेको इरान-१८ लाई शुक्रबार भएको पहिलो सेमिफाइनलमा ३-१ ले हराउँदै क्यालिकट फाइनलमा प्रवेश गरेको थियो । त्यसअघि लिग चरणमा क्यालिकट इरान-१८ सँग पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय लिगको डेब्यु संस्करणमै उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको हेल्प नेपाल लिग चरणको एक खेलमा भने पराजित भएको थियो । हेल्प नेपालले शुक्रबार नै भएको दोश्रो सेमिफाइनल खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३-० सोझो सेटमा हराउँदै फाइनलमा क्यालिकटसँगको भेट पक्का गरेको थियो ।
फाइनलअघि आज नै इरान यु-१८ र क्लब एचडिसीबीच तेश्रो स्थानको लागि प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो १:१५ मा शुरु हुनेछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा भएको च्याम्पियनसिप नेपालका २ सहित ५ टोलीको सहभागीता रहेको थियो।
नेपालबाट गत संस्करणको एनभीए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले यो प्रतियोगिता खेल्ने अवसर पाएका थिए । गण्डकी भने चार वटै खेलमा पराजित हुँदै च्याम्पियनसिपको लिग चरणबाट नै बाहिरीएको थियो ।
यसैगरी अन्य ३ क्लबमा ईरानको य-१८ टोली, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडीसी क्लब रहेका छन्। काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो ।
