नेपाल प्रहरी क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन २ को उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८-४ ले पराजित गर्दै उपाधि उचाल्यो ।
समान २-२ पुरुष-महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा प्रहरीले ४ स्पर्धामै जितका लागि आवश्यक ८ अंक बटुल्न सफल भयो । प्रहरी साविक उप विजेता हो भने गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो ।
डिफेन्डिङ च्याम्पियन एभीएम टेबलटेनिस क्लब यसपटक सहभागी भएन । पहिलो पुरुष सिंगल्समा स्ट्यागका हमर साङगाले प्रहरीका वंश सिंघललाई ११-९, ५-११ र ११-९ को सेटमा पराजित गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।
महिला सिंगल्समा प्रहरीकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११-६, ५-११ र ११- ६ ले हराउदै खेललाई ३-३ को बराबरीमा अवस्थामा पुर्याइन्। मिक्स डबल्समा प्रहरीकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको जोडीलाई १०-११, ११-९ र ११-१ ले पाखा लगाएपछि खेल ५-५ को बराबरी अवस्थामा पुग्यो ।
अर्को पुरुष सिंगल्समा प्रहरीका संयोगको प्रदर्शननै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३-० को सोझो सेटमा पन्छ्यादै जितका लागि आवश्यक ८ अंक बटुले । संयोजक ११-७, ११-४ र ११-९ ले विजयी भए ।
त्यसपछि प्रहरीकी नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय भएको महिला सिंगल्स खेलाउनु परेन । उपाधिसंगै प्रहरीले २ लाख तथा स्ट्यागले १ लाख नगद पुरस्कार हात पारे । नेपाल एपीएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस तेश्रो भए ।
दुवैले समान ५०-५० हजार नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोली मध्ये एपीएफमा मात्र विदेश खेलाडी थिएनन् । बाँकी ३ टोलीले समान २-२ विदेशी खेलाडी अनुबन्ध गरेका थिए । उनीहरुले समान १-१ पुरुष-महिला भारतीय खेलाडीलाई टोलीमा समावेश गरेका थिए ।
विजेतालाई सह-प्रायोजक समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा शीर्ष तीन स्थान रहेका टिमसहित ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी र रेड टाइल्स गरी ७ टिम सहभागी थिए ।
