एभीएम टिटि क्लबकी इभाना थापा मगर महिलाबाट र नेपाल पुलिस क्लबका संयोग कपाली पुरुषबाट २७ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् ।

अर्को महिना काजकास्तानमा च्याम्पियनसिपका लागि अखिल नेपाल टेबल टेनिस संघले ३ दिन छनोट प्रतियोगिताको आयोजना गरेको थियो । सोमबार सम्पन्न छनोटमा इभाना आ-आफ्नो विधामा अब्बल रहँदै छनोट भएका हुन् । दुवै महिला र पुरुषतर्फ १-१ खेलाडी छनोट हुने प्रावधान रहेको थियो ।

महिलातर्फ लगातार च्याम्पियन रहेर एकछत्र राज गरेकी पुलिसकी नविता श्रेष्ठ छनोटमा तेस्रो भइन् । दुई चरणमा लिग प्रणालीमा भएको प्रतियोगितामा इभाना अपराजित रहँदै छनोट भएकी हुन् । एभीएमकै बियान्का राई दोस्रो हुँदा नविता तेस्रो स्थानमा सिमित भएकी हुन् । इभाना र बियान्का दुवैसँग हार भोगेकी नविताले राष्ट्रिय स्तरको एकै प्रतियोगितामा दुई खेल हारेको यो पहिलो अवसर हो ।

पुरुषतर्फ संयोग अपराजित रहँदै छनोट भए। पुलिसकै गनन्जय दाहाल दोस्रो हुँदा एपीएफका राजीव चिकबन्जार तेस्रो स्थानमा सिमित भए ।

एसियाली च्याम्पियनसिप असोज २१ देखि २७ गतेसम्म हुने संघका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिए । छनोट प्रतियोगिताबाट महिला र पुरुषमा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *