सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि भुवन नगरकोटीको टिमले १ सय ५७ अंकसहित जितेको छ।

गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योरहरू विनोद श्रेष्ठले र जयवीर आचार्यले ३९ तथा तारा कार्की चित्रकारले ३८ गरी कुल १५७ स्कोरमा उपाधि जितेको हो।

१ सय ५१ अंक सहित प्रो जयराम श्रेष्ठको टिम दोस्रो भयो। जयरामले ४०, एमेच्योर इदान्त सिंह साउदले ३८, पवित्र कुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ अंक जोडे। प्रो सञ्जय लामाको टिमले १ सय ४२ अंक सहित तेस्रो स्थान प्राप्त गर्यो। सञ्जयले ३९ तथा एमेच्योर गल्फरहरू सद्भाव आचार्य र रवीन्द्र तिवारीले ३६ र लीलाजंग कार्कीले ३५ अंक जोडे।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट स्कोरको आधारमा तारा कार्की चित्रकारले उपाधि जितिन। उनले ३८ अंक बनाएकी थिइन्। प्रतियोगितामा सद्भाव आचार्यले लङगेस्ट ड्राइभ र निशल्य जङ्ग रायमाझीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।

प्रतियोगितामा २५ प्रो सहित कुल १४० खेलाडीको सहभागिता रहेको थियो। विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर रवि रायवरम, मार्केटिङ उपाध्यक्ष दिप्रा लाहिरी, पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे। टंकबहादुर कार्कीले होल नम्बर ८ मा होल इन वन गरे।

शुक्रबार सुवास तामाङले १६ अन्डर २७२ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए। सुवास प्रो टर्न भएपछि जितेको यो पहिलो उपाधि हो। उनले टुरमा कुल ६ प्रतियोगिता जितिसकेका छन्। भुवन नगरकोटी र नीरज तामाङ १४ अन्डर २७४ मा संयुक्त रूपमा दोस्रो, तथा दिनेश प्रजापति र तोरणविक्रम शाही क्रमशः चौथो र पाँचौं भए।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनकै सर्वाधिक ठुलो प्रतियोगिताको पुरस्कार राशि १५ लाख ५० हजार रहेको थियो। प्रतियोगितामा कूल ३७ प्रो तथा ११ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *