जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ बूढानीलकण्ठ भलिबल क्लब र नेपाल एपीएफ क्लब बिजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा बूढानीलकण्डले कोशी प्रदेशविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।
पहिलो सेट तथा तेस्रो सेट २३-२५ र १२-२५ ले गुमाएको
बूढानीलकण्ठले अन्य सेट २५-१२, २५-१८, १६-१४ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो जितसँगै बूढानीलकण्ठले सात खेलमा दुई अंक जोडेको छ । यसअघि बूढानीलकण्ठले हेल्प नेपाल, आर्मी, पुलिस, सुदूरपश्चिम, गण्डकी र एपिएफसँग हार ब्यहोरेको थियो ।
सातै खेलमा पराजित कोशी अंकविहिन बन्यो ।

त्यसैगरि शुक्रबार सम्पन्न दिनको चौथोंं खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दार्ता गरेको छ ।
एपिएफले खेल २५-१६, २५-२१, २५-२२ ले जितेको छ ।
तेस्रो जितसँगै एपिएफले सात खेलमा १० अंक जोड्यो । यसअघि गण्डकी, पुलिस, आर्मी र हेल्प नेपालसँग हार ब्यहोरेको एपिएफले बूढानीलकण्ठ र कोशीलाई हराएको थियो ।
पराजित सुदूरपश्चिमको सात खेलमा ६ अंक छ । यसअघि पुलिस, गण्डकी, हेल्प नेपाल र आर्मीसँग हार ब्यहोरेको सुदूरपश्चिमले कोशी र बूढानीलकण्ठलाई पराजित गरेको थियो ।
